यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

स्थानीय निकायको चुनाब २०७४ को सन्दर्भमा उम्मेदवारका लागि शिक्षाक्षेत्रको नीतिगत प्रश्नहरु

स्थानीय निकायको चुनाब २०७४ को सन्दर्भमा उम्मेदवारका लागि शिक्षाक्षेत्रको नीतिगत प्रश्नहरु

श्री काठमाडौँका उम्मेदवार ज्युहरु,

नेपालको संबिधानमा शिक्षासंग सम्बन्धित धेरै अधिकारहरु र जिम्मेवारीहरु बिशेषत आधारभूत तथा माध्यामिक विध्यालयसम्बन्धि जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरिएको छ (संबिधानको अनुसूची ८ को ८ न. बुँदा हेर्नुहोस) | हाम्रो नानीबाबुको भबिस्य पनि यसैमा जोडिएको छ | त्यसैले पनि शिक्षा क्षेत्रमा उम्मेद्वारहरुको अडान र नीतिहरु जान्नु महत्वपुर्ण हुन्छ | अहिले नेपालको करिब ४० % जनसंख्या १६ वर्ष भन्दा कमका छन् र उनीहरुलाई समयानुसार तयार गर्न चुक्यौ भने धेरै जनताका लागि धोका हुनेछ र हाम्रो अर्को पुस्ता पनि गरिबी र पछयौटेपनको मारमा पर्नेछन | स्थानीय निकायमा चुनिने उम्मेदवारको काँधमा आउँदो पुस्तालाई पढाउने जिम्मेवारी आउदैछ | काठमाडौँ देशकै आर्थिक मेरुदण्ड र सिर्जनशीलता उन्मुख सहर पनि हो |

हामीले पाठयक्रम, आर्थिक व्यवस्थापन, शिक्षक, निजिसरकारी सहकार्य, र मातृभाषा जस्ता बिषयबस्तुको आधार लिई २६ वटा प्रश्नहरु तयार गरेका छौ | हामी आशा गर्छौ कि हामीले राखेका २६ प्रश्नहरुलाई तपाईहरुले विशेष ध्यान दिएर सार्बजनिक रुपमै यसको जवाफहरू दिनुहुनेछ |

आर्थिक

१ . नेपालको संविधानको धारा ३१ (२) ले “प्रत्येक नागरिकलाई राज्य बाट आधारभूत तह सम्मको शिक्षा अनिबार्य र निशुल्क तथा माध्यामिक तह सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ |” भनि प्रत्याभूत गरेको छ | तपाइको कार्यकालमा यो संबैधानिक प्रत्याभूति पुरा गर्नको लागि आवश्यक रकम उपलब्ध हुनेछ भनि के तपाई बिश्वास गर्नुहुन्छ ?

२ . यदि काठमाडौँका सबै नागरिकहरुलाई निशुल्क शिक्षाको व्यवस्था गर्न रकम नपुगेको अवस्थामा, खर्च हुने रकम सबैभन्दा आवश्यक रहेको व्यक्तिका लागि खर्च हुन्छ भनि कसरि प्रत्याभूत गर्नुहुन्छ ?

३ . संघिय तथा प्रादेशिक सरकारले पक्कै पनि केहि रकम शिक्षामा बिनियोजन गर्नेछन, जुन प्रयाप्त नहुन सक्छ | के तपाईले शिक्षा क्षेत्रमा थप खर्च गर्नेको लागि स्थानीयतहबाट थप करहरु लगाउने सोच्नु भएको छ ? तपाईले कस्तो खालको कर लगाउने परिकल्पना गर्नु भएको छ ?

४ . हाल बिद्यालयहरुमा शिक्षकहरुको संख्याको आधारमा खर्चहरु पठाएको पाइन्छ | बिद्यालयहरुमा विद्यार्थी भर्ना भएको आधार नलिएर शिक्षक दरबन्दीको आधारमा रकम आउने गर्छ | के तपाई यो विधिलाई समर्थन गर्नु हुन्छ ? अथवा बिद्यालयहरुमा गुणस्तरीय शिक्षाका आधारमा विद्यार्थीलाई आकर्षण गरि भर्ना गरेको संख्याको आधारमा अनुदान दिने बिधि अपनाउने बारेमा तपाईको के विचार छ ?

५ . हामी मेयरको प्रत्यक्ष संलग्नतामा शिक्षाको तिन तह रहने कुरा सोच्न सक्छौ : जसमा पूर्व प्राथमिक, आधारभूत कक्षा (१- ८) र माध्यामिक (९-१२ ) रहेका छन् | तपाईको नेतृत्वमा यस स्थानीय निकायको कुल शिक्षाको वजेटको कुन तहलाई कति कति प्रतिशत रकम खर्च गर्ने सोचिरहनु भएको छ ? ती तहहरुमा त्यतिको प्रतिशत छुट्याउनुपर्ने कारणहरु के के होलान ?

निजि /संस्थागत बिद्यालयहरु

६ . हरेक वर्ष जिल्ला शिक्षा कार्यालयहरुले निजि तथा संस्थागत विद्यालयहरुलाई अधिकतम शुल्क सिमा तोक्ने गरेको पाइन्छ, सोहि अनुसार हालै काठमाडौँ जिशिकाले पनि निश्चित शुल्क तोकेको छ | तपाईको कार्यकालमा पनि निश्चित शुल्क सिमा तोकेर निजि तथा संस्थागत विद्यालयहरुलाई नियमन गर्नु हुन्छ कि खुल्ला बजारले आफै शुल्क निर्धारण गर्न छोडी दिनुहुनेछ ?

७ . तपाईको प्रशासनले निजि बिद्यालयहरु माथि कस्तो प्रकारको नियमन गर्नेछ ? के त्यसमा विद्यार्थी संख्या, भवन, खेलकुद मैदान, कक्षाकोठामा हुनुपर्ने प्रति विद्यार्थी क्षेत्रफल आदि को बारेमा सिमाहरु तोकिनेछ ?

८. काठमाडौँ को अर्थ व्यवस्था राम्रो हुदै जादा यहाँ निजि बिद्यालयहरु खोल्न अन्तरास्ट्रिय संस्था तथा निकाय पनि इच्छुक हुन सक्छन | के हामीले त्यस्ता अन्तरास्ट्रिय तहबाट संचालन हुने निजि बिद्यालयहरु नेपालमा खोल्न दिन हुन्छ ? यदि हुन्छ भने, के तिनीहरुलाई पनि यहाको स्थानीय निजि विद्यालयहरुलाई लागु गरेको नियमहरु बाट्नै नियमन गर्न सकिन्छ कि फरक तरिकाले नियमन गर्नु पर्छ त ?

९ . भौचर प्रणाली लाई भारत चिली लगायत धेरै देशमा लागु गरिएको छ जसमा सरकारले बच्चाको अनुसार अभिभावकलाई भौचर कुपन उपलब्ध गराउछ र त्यसलाई बच्चा पढाउने निजि वा सरकारी बिद्यालयमा लगेर शुल्क तिर्न प्रयोग गर्न सकिन्छ | तपाई यस्ताखालको कार्यक्रमको समर्थन गर्नुहुन्छ?

सामुदायिक सहभागिता र सार्बजनिक निजि सहकार्य

१०. अहिले प्राय शैक्षिक नीतिहरु दातृनिकाय र सरकारी कर्मचारीहरु बिचको समझदारीमा तय भएका छन् | तपाई ले कसरि धेरै भन्दा धेरै शैक्षिक नीति निर्माणमा सामुदायिक सहभागीताको सुनिश्चितता गर्नु हुन्छ ?

११ . के तपाई साझेदारीमा आधारित वा चार्टर स्कुलहरु खोल्नलाई सहयोग गर्नुहुन्छ ? जसमा बिद्यालयहरु गैरनाफामूलक, सरकारको स्वामित्व र लगानीमा चल्ने हुन्छन तर त्यसको ब्यबस्थापन निजि क्षेत्रको बिज्ञ समुहले गर्दछन ?

१२ . के तपाई नागरिकका तर्फबाट भएका मुल्यांकनबाट प्राप्त हुने तथ्यांकलाई नीतिनिर्माणमा प्रयोग गर्न रुचाउनुहुन्छ ? जस्तै citizen led assessments (CLA) जसमा स्वयंसेवकहरु आफ्नै समुदाएको घरघरमा गएर त्यहाका बालबालिकाहरुले केकति पढिरहेका र जानिरहेका छन् भनेर हेर्छन, यस प्रक्रियामा नया तथ्यांक थप्ने र आधिकारिक निकायहरुको तथ्यांकहरू परिक्षण गर्ने काम हुनुको साथै भर्खरका जवान स्वयंसेवकहरुले आफ्नै गाउँ ठाउको शैक्षिक पद्दति थाहा पाउने मौका पाउछन |

१३ . सिकाई र शसक्तिकरणको प्रक्रिया भनेको बिद्यालय भन्दा पनि धेरै बाहिर समेत हुने क्रिया हो | बिद्यालय पछी को सिकाई क्रियाहरु चलाउन काठमाडौँमा थोरै मात्र सामुदायिक ठाउँ हरु छन् , काठमाडौँक मुख्य क्षेत्रमा रहेका प्राय निजि बिद्यालयहरु दिउसो को करिब ३ बजे नै बन्द भैसक्छन | यस्तो अवस्थामा बिद्यालय समय भन्दा बाहिर बालबालिकाहरुलाई सिर्जनात्मक सिकाइमा सहभागी गराउन तपाईका केहि रचनात्मक योजनाहरु छन् कि ?

पाठ्यक्रम

१४. पाठ्यक्रमको बारेमा कुरा गर्नु पर्दा काठमाडौँको बिद्यालयहरुमा लागु गर्ने पाठ्यक्रमको कति कति भाग राष्ट्रिय सरकारले तय गरेको र कुन कुन भाग चाहि विद्यालयले नै तय गर्न पाउने गरि राख्ने विचार गर्नु भएको छ ?

१५. के त्यसरी पाठयक्रम भाग लगाउने बिधि आधारभूत तह (१-८) र माध्यमिक तह (९-१२) मा उस्तै हुनुपर्छ ?

** प्रश्न न. १४ र १५ तपाईको निर्बाचित हुने क्षेत्रका शिक्षामा चासो राख्ने धेरै जनाको लागि ज्यादै नै महत्वपुर्ण हुनेछ | नेपालकै केहि राम्रो नाम चलेका बिद्यालयहरु काठमाडौँमा रहेका छन् र कतिपय उनीहरुले थप बिषयका रुपमा पढाईरहेका कुराहरु राष्ट्रिय पाठयक्रमले तोकेको भन्दा राम्रो रहेको छ | र त्यसरी विद्यालयलाई नै पाठ्यक्रम तय गर्ने केहि अधिकारहरु दिदा कतिपय शिक्षाका नया बिधिहरु छिट्टै लागु गरिहाल्न सकिन्छ |

१६. तपाईको बिचारमा विद्यालयको पाठयक्रम कसले तयार पार्नु पर्दछ : अ) काठमाडौँ महानगरपालिका आ) प्रदेश सरकार इ) केन्द्रीय सरकार ? र किन ?

१७. नेपाल भित्र काठमाडौँको एउटा विशेष स्थान भएको कुरालाई मध्यनजर गर्दा के तपाई काठमाडौँमा भएका बिद्यालयहरुको मात्रै एउटा छुट्टै बोर्ड बनाउने वा आवश्यक परेमा परीक्षा समिति समेत बनाउने कुरालाई समर्थन गर्नु हुन्छ ? यदि त्यस्तो विचार भएमा के कस्तो अधिकार सहितको त्यस्तो बोर्ड वा समितिलाई दिने सोच्नु हुन्छ ? यदि त्यस्तो संरचना नबनाउने सोच्दै हुनुहुन्छ भने किन नबनाउने सोच्नु भएको होला ?

१८. प्रविधिको क्षेत्रमा अझै खास भन्नुपर्दा कम्प्युटर प्रणालीको क्षेत्रमा नयाँ नयाँ तथा द्रुत गतिमा परिबर्तन आइरहेको छ | तर यस्ता बिषयबस्तु पढाई हुने पाठ्यक्रमहरुमा ज्यादै सुस्त परिबर्तन गरिन्छ | तपाईको कस्तो खालको नीतिगत व्यवस्थाहरुले बिज्ञान, प्रबिधि तथा इन्जिनियरिंग बिषयहरुमा सिर्जनशील बिचारहरु भित्र्याएर छिटो भन्दा छिटो बिद्यालयहरुमा त्यस्तो कुरा पढाउदै हाम्रा बालबालिकाहरुलाई एक्काइसौं शताब्दीका लागि तयार गर्न सकिन्छ होला ?

१९. के तपाईको कार्यकालमा माध्यामिक विद्यालयहरुलाई प्राविधिक तथा व्यवसायिक सिपहरु जस्ती कम्प्युटर प्रोगामिंग, लेखा व्यवस्थापन आदि जस्ता क्षेत्रमा ध्यान दिने कुरामा सहयोग हुनेछ त ? अथवा १२ कक्षाको अन्त्य सम्म विद्यालयहरुले साधारण खालकोनै शिक्षा प्रणालीमा ध्यान दिए मात्रै पुग्छ भनेर पो सोच्नु हुन्छ कि ?

सरकारी / सामुदायिक विद्यालयका शिक्षक

नेपालको शैक्षिक क्षेत्रको करिब ७०% खर्च शिक्षकहरुको लागि भैरहेको छ | त्यसैले शिक्षकहरु कसरि व्यवस्थापन गर्ने भन्ने तपाईको नीति ज्यादै महत्वपुर्ण हुन्छ |

२०. तपाईको बिचारमा सरकारी तथा सामुदायिक बिद्यालयहरुमा शिक्षकहरु नियुक्ति गर्ने विधि कसले निर्माण गर्नु पर्छ : अ) काठमाडौँ महानगरपालिका आ) प्रदेश सरकार इ) केन्द्रीय सरकार ? र किन ?

२१. तपाईको बिचारमा सरकारी तथा सामुदायिक बिद्यालयहरुमा शिक्षकहरु नियुक्ति चाही कसले गर्नु पर्छ : अ) काठमाडौँ महानगरपालिका आ) प्रदेश सरकार इ) केन्द्रीय सरकार ई) बिद्यालय वा व्यवस्थापन समिति आफैले ? र किन ?

२२. के तपाई सरकारी वा सामुदायिक बिद्यालयका शिक्षकहरुलाई अहिलेको जस्तै जिबनभरको ग्यारेन्टी सहित नियुक्ति गर्ने विधिको समर्थन गर्नु हुन्छ ? अथवा हरेक ३ देखि ५ बर्षमा मुल्यांकन सहित नवीकरण हुने गरि करार सम्झौतामा नियुक्ति गर्ने जस्ता उपाय हरुको वारेमा पनि सोच्नु हुन्छ ?

२३. के तपाईको विचारमा प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिलाई आफ्नो आवश्यकताको आधारमा कुनै शिक्षकलाई स्वीकार्ने वा अस्विकारगर्ने अधिकार हुनुपर्छ भन्ने लाग्छ ? अथवा अहिलेको जस्तै शिक्षा क्षेत्रका कर्मचारीले निर्णय गर्ने र विद्यालयले त्यो कुरा स्विकार्नु पर्ने विधि नै ठिक छ र त्यहि नै अवलम्वन गर्नु पर्छ ?

२४. तपाईलाई हाल काठमाडौँका सबै सरकारी तथा सामुदायिक बिद्यालयहरुमा कार्यरत शिक्षकहरुको व्यवस्थापनको बारेमा के गरिनु पर्छ जस्तो लाग्छ ? के ती सबै काठमाडौँ महानगरपालिका अन्तर्गत काम गर्न रुपान्तरण गरिनु पर्छ ? अथवा के काठमाडौँ महानगरपालिका ले उनीहरुलाई फेरी अन्तवार्ता तथा परिक्षा लिएर पुनर्नियुक्ति गरिनु पर्छ ? अथवा हरेक विद्यालयले आफ्नै आवश्यकता अनुसार अन्तर्वार्ता तथा परिक्षा लिएर नियुक्ति गर्ने व्यवस्था गरे हुन्छ ?

यो बुँदा काठमाडौँको लागि महत्वपुर्ण हुन आउछ | प्रति विद्यार्थीको आधारमा केलाउदा आवश्यकता भन्दा धेरै नै शिक्षक भएको जिल्ला को रुपमा काठमाडौँ रहेको छ | किनभने धेरै भन्दा धेरै सरकारी तथा सामुदायिक शिक्षकहरुमा काठमाडौँमै बस्न पाए हुन्थ्यो भन्ने चाहना छ र धेरै विद्यार्थीहरुले सरकारी तथा सामुदायिक बिद्यालयहरु छाडेर निजि तथा संस्थागत बिद्यालयमा गैसकेका छन् | त्यसैले हाल काठमाडौँमा भएका सबै शिक्षकहरुलाई यहि राख्ने र सरकारले जनसंख्याको आधारमा आर्थिक बिनियोजन गरेमा काठमाडौँ महानगरपालिकाले सबैलाई धान्न सक्दैन |

मातृभाषा शिक्षा र राष्ट्रिय भाषाहरु

संविधानको धारा ३१ (५) मा उल्लेख गरिएको छ कि “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि बिद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हक हुनेछ |” यस प्रावधानहरुमा आधारित रहेर तलका २ प्रश्न तयार गरिएको छ :

२५. नेपालका सबै जसो मानिसहरु कुनै न कुनै रुपले काठमाडौँमा आएर बसोवासगर्ने कारणले गर्दा यहाँ नेपालका प्राय सबै भाषाभाषी बोल्ने समुदायहरु रहेका छन् | सार्बजनिक कोष बाट रकम व्यहोरेर त्यस्तो भाषिक समुदायहरुलाई बिद्यालय चलाउन दिन कस्तो खालको नीतिहरु तर्जुमा गर्नु हुनेछ ? भाषाभाषी बोलचाल गर्नेहरुको जनसंख्याको आधार वा भाषा बोल्ने प्रतिशत वा माग आएको मात्र आधारमा त्यस्तो नीतिहरु तय हुनेछन ?

२६.मातृभाषामा आधारित भएर बिद्यालय शिक्षा संचालन गर्ने बिद्यालयहरुलाई पनि अन्य विद्यालयहरुलाई नै लागु हुने प्रावधानहरु लागु गरिनु पर्छ कि फरक प्रावधानहरु तय गरिनु जरुरि छ ? अरु अंग्रेजी तथा नेपाली माध्यममा पढाउने बिद्यालयहरुको जस्तै गरि परिक्षा लगायतका विधिहरु ती विद्यालयहरुले लागु गर्नु जरुरि छ कि छैन ? अर्को शब्दमा भन्नु पर्दा तपाईले ती विद्यालयहरुले तामाङ्ग, नेवारी वा भोजपुरी जस्ता भाषामा पढाए पनि अन्य जस्तै सामान्य बिद्यालय मान्नु हुन्छ कि तिनीहरुलाई सांस्कृतिक सम्पदा पुस्तान्तरण गर्ने खालका विशेष बिद्यालयहरु ?

धन्यवाद !

हामीसंग केहि कुरा गर्नु परेमा info@galligalli.org मा इमेल वा +977-1-4422804 मा फोन गर्न सक्नुहुनेछ |


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-1star2-1star3-1star4-1star5-0
9 reviews   
"http://nalibeli.org/index.php?title=स्थानीय_निकायको_चुनाब_२०७४_को_सन्दर्भमा_उम्मेदवारका_लागि_शिक्षाक्षेत्रको_नीतिगत_प्रश्नहरु&oldid=10407" बाट निकालिएको